बजारमा भारी करेक्सन : सोझासीधा लगानीकर्ता धमाधम बेच्दै, टाठाबाठा उठाउँदै

0 Prakash Kharel

धितोपत्र कारोबार हुने साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा भारी अंकको करेक्सन आएको छ।

आज परिसूचक ७९.७४ अंकले ओरालो लाग्दै २४७४.३९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.५३ अंकले घट्दै ४४७.२९ को विन्दुमा सीमित बनेको छ।

यो दिन सेयर किनबेच भने ८ अर्ब ३५ करोड रुपैयाँ बढी भएको छ।

बजार विश्लेषक मेघनाथ निरौल आजको घटाइलाई बजार बियरिस ट्रेन्डमा फर्कियो कि भनेर आँकलन गर्न नहुने बताउँछन्। ‘आज पनि बजारमा करेक्सन नै आएको हो, यसलाई बजारमा प्रवेश गर्ने र सेयर उठाउने मौकाका रुपमा लिनुपर्छ’, उनले भने, ‘बजार घट्नुमा राजनीतिक अस्थिरतालाई जोड्नु मूर्खता र बहानाबाजीमात्र हुनेछ।’

बजारमा केही टाठाबाटाले बैंक ब्याजदर बढ्छ भनेकै भरमा सोझा लगानीकर्ताहरुले धमाधम सेयर बेचिरहेको प्रस्ट हुने निरौला बताउँछन्। ‘यसको फाइदा तिनै टाठाबाटा लगानीकर्ताहरुले घटेको बजारमा सेयर धमाधम उठाइरहेका छन्’, उनले भने, ‘बैंक ब्याजदर वैशाखअघिसम्म कुनै हालतमा पनि बढ्ने सम्भावना छैन।’

संयुक्त राष्ट्रसंघको विकास नीति समितिले नेपाललाई अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्न सिफारिसले यसलाई सकारात्मक रुपमा लिनुपर्ने निरौलाको भनाइ छ। ‘यसले नेपालको सेयर बजार झनै बलियो हुने देखिन्छ’, उनले भने।

बजार १–२ दिन घट्दैमा आत्तिनुपर्ने अवस्था नरहेको निरौला बताउँछन्। ‘बढ्दो बजारमा करेक्सन आउनैपर्छ’, उनले भने, ‘केही दिनमै बजार बाउन्सब्याक हुन्छ अनि अबको लक्ष्य भनेको ३००० कै विन्दु हो।’

अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि आजको करेक्सनलाई स्वाभाविक रुपमा लिन्छन्। ‘लामो यात्रामा निस्केको मान्छेलाई थकाइ लाग्ने, भोक लाग्ने हुन्छ र म सक्दिन कि भन्ने महसुस पनि हुन्छ’, उनले भने, ‘अहिले बजारमा भइरहेको त्यही नै हो, बजारले बिश्राम लिएको हो, यस्तो बेला लगानीकर्ताहरुमा धैर्यताको आवश्यकता हुन्छ। यो बेला छिनछिनमा निर्णय परिवर्तन गर्न हुँदैन।’

घिमिरेका अनुसार बजारमा करेक्सन आउँछ भन्ने सबैलाई थाहा नै थियो। ‘२–४ सय अंक घट्नु स्वाभाविकै हो’, उनले भने, ‘यो बेला राम्रा बैंक, होटेल र जलविद्युत् कम्पनीहरुमा लगानी गर्नु उचित देखिन्छ।’

अहिले बजार माथि नै भएकोले घट्दा वा बढ्दा अंक ठूलो देखिनु स्वाभाविकै रहेको उल्लेख गर्दै घिमिरेले भने, ‘अंकभन्दा प्रतिशत हेर्नु उचित हुन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा उपसमूहमध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामात्रै हरियाली छाएको छ।

यो दिन होटेल्स् तथा पर्यटन समूहमा मात्रै ११.०८ अंकको बढोत्तरी भएको हो।

आज जीवन बीमा समूह सर्वाधिक ६२४.८ अंकले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १९८.२ अंकले घटेको यो दिन बैंकिङ समूहमा ५४.५७ अंक, व्यापार समूहमा ११.२२ अंक, विकास बैंक समूहमा ७५.५१ अंक, जलविद्युत् समूहमा ६७.१५ अंक, वित्त समूहमा २९.७४ अंक, अन्य समूहमा ८१.३५ अंक, म्युचुअल फन्ड समूहमा ०.२४ अंक र लगानी समूहमा ४.१३ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०७ कम्पनीका १ करोड ६० लाख १७ हजार ३२२ कित्ता सेयर ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८१४ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिखर इन्स्योरेन्सको सर्वाधिक १ अर्ब २ करोड रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको ६३ करोड ४९ करोडबराबरको कारोबार भएको आज ग्लोबल आईएमई बैंकको ३४ करोड रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ६१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २५ करोड ७२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २४ करोड ६० लाख रुपैयाँ, नबिल बैंकको २२ करोड ९४ लाख रुपैयाँ, नेपाल बैंकको २२ करोड ८५ लाख रुपैयाँ, नेको इन्सुरेन्सको २२ करोड ६९ लाख रुपैयाँ र प्रभु बैंकको १९ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज चन्द्रागिरी हिल्सका सेयरधनीहरले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लागेको छ।
यो दिन गणपति माइक्रोफाइनान्स र नेपाल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। गणपतिको सेयरमूल्य ७ प्रतिशतले घट्दा नेपाल फाइनान्सको मूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Us

Aflex Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable