नागरिक एप प्रयोग गर्न सबैलाई निःशुल्क मोबाइल डेटा

0 Prakash Kharel

सरकारले परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एपका लागि आवश्यक डेटा निःशुल्क रुपमा उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।

निःशुल्क मोबाइल डेटाका लागि आवश्यक पहल मन्त्रालयले छुट्टै समिति समेत गठन गरिसकेको छ । यसका लागि नेपाल टेलिकमलाई सर्भरको डिटेल समेत उपलब्ध गराइसकिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

साथै एनसेलको सिस्टम समेत नागरिक एपमा यस अघि नै आवद्ध भइसकेकाले डेटा निःशुल्क गराउन प्राविधिक रुपमा खासै समस्या नरहेको बताइएको छ । नागरिक एप चलाउँदा मोबाइल डेटाको शुल्क नलाग्ने व्यवस्था गर्न सेवाप्रदायकसँग छलफल समेत अगाडि बढिसकेको छ ।

यो सुविधा सुरु भएको खण्डमा नागरिक एपमा उपलब्ध सेवा प्रयोग गर्न आवश्यक मोबाइल डेटा निःशुल्क रुपमा प्राप्त हुनेछ । यद्यपी एप डाउनलोड गर्न गुगल तथा एप्पलको सिस्टममा जानुपर्ने भएकाले त्यसमा भने शुल्क लाग्नेछ ।

‘डाउनलोड गरिसकेपछि एप चलाउँदा भने शुल्क नलाग्ने व्यवस्था गर्ने भनिएको हो,’ मन्त्रालय निकट स्रोतले टेकपानासँगको कुराकानीमा भन्यो, ‘यद्यपी कहिलेदेखि यसको सुरुवात हुन्छ भन्ने कुरा चाहिँ अहिले नै यकिन साथ भन्न सकिने अवस्था छैन ।’

नेपाल टेलिकमले यसका लागि आवश्यक गृहकार्य सुरु गरिसकेको छ । प्राविधिक रुपमा आवश्यक तयारी पुरा गरेर अर्को सातासम्म टेलिकमले नागरिक एपका लागि निःशुल्क डेटा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

एनसेलले भने एपका लागि निश्चित महिनासम्म मात्र डेटा फ्री उपलब्ध गराउन सकिने प्रतिक्रिया दिएको छ । जसका कारण एनसेलसँगको छलफल अझै निश्कर्षमा पुगिनसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

तेस्रो ठूलो मोबाइल सेवाप्रदायक स्मार्ट सेलसँग भने यस विषयमा कुरा नै अगाडि नबढाइएको बताइएको छ । नागरिक एपमा समेत आवद्ध हुन नसकेको स्मार्ट टेलिकमलाई प्रयोगकर्ताको संख्या समेत थोरै भएकाले प्राथमिकतामा नराखिएको हो ।

नागरिक एपमा सबै नागरिकको सहज पहुँच स्थापित गर्ने उद्देश्यका साथ यस्तो प्रयास अगाडि बढाइएको हो । त्यसो त नेपाल टेलिकमले डट जीओभी डट एनपी जोडिएका सरकारी वेबसाइटहरु प्रयोग गर्दा मोबाइलमा डेटा शुल्क लाग्दैन ।

तर हाल सरकारी एपका लागि भने कम्पनीले नियमित दररेटमै डेटा शुल्क लगाउँदै आएको छ । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा यही एपबाट उपलब्ध गराउने लक्ष्य राखेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Us

Aflex Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable